२२ फागुन ०७५, काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।
रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले बुधबार जन्मकैदको फैसला गरेपछि बसेको राजपाको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
बैठकले दुई तिहाई बहुमत हुँदाहुँदै पनि सरकारले संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरूको रिहाइ नगरेको, उनीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता नगरेको र घाइतेहरुको उपचार नगराएको निष्कर्ष निकालेको छ ।
सांसद चौधरी लगायत आफ्ना नेता, कार्यकर्तालाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारवासको कैद सजाय फैसलाबाट पार्टी स्तब्ध भएको समेत जनाएको छ ।













