राजविराजमा पुस्तक व्यवसायी संघको सिण्डिकेट: विद्यार्थी र अभिभावक मारमा

९ बैशाख ०७६, सप्तरी । राजविराज स्थित निजी विद्यालयका पाठयपुस्तक विक्री वितरणमा एकलौटी गरी पुस्तक व्यवसायीले ब्रह्मलुट मच्चाउँदा निजी विद्यालयका विद्यार्थी र अभिभावक मारमा परेका छन् ।

राजविराज नगरपालिकामा मात्रै ४१ वटा पुस्तक पसल रहेता पनि पुस्तक तथा स्टेशनरी व्यवसायी संघको एकलौटी र मनपरी निर्णयका कारण ती कुनै पनि पुस्तक पसलमा निजी विद्यालयको पाठ्यपुस्तकहरु बिक्रीका लागि उपलब्ध छैनन ।

फोटोः देवराम यादव ।

संघले सिण्डिकेट खडा गर्दै सदरमुकाम राजविराजको गजेन्द्र चोकमा कुनै निकायमा दर्ता नगराई गैरकानूनी ढंगले “पुस्तक महल” नामक एक अस्थायी पसल सञ्चालनमा गरी नगरभरीका ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नुपर्ने बाध्य बनाइएको छ । नगरका सबै निजी विद्यालको विषयसूचि पनि त्यही पसललाई मात्र उपलब्ध गराइएको छ । ती पसलबाट पुस्तक किन्दा १ रुपैयाँ पनि छुट नदिने संघको कठोर निर्णयले विद्यार्थी र अभिभावक हैरान बनेका छन् ।

विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि संघले एकलौटी गरेर विद्यार्थीहरुलाई १ रुपैयाँसम्म छुट नदिएर ब्रह्मलुट मच्चाइरहेको र स्थानीय प्रशासन मुकदर्शक बनेको महादेवा गाउँपालिका १ निवासी विद्यार्थी दिपक यादवले गुनासो सुनाए । उनले भने– ‘बजारमा कतै पुस्तक पाइदैन, सबै पसलेले ‘पुस्तक महल’ मा जानु भन्छन् ।’

अभिभावक वासुदेव यादवले पुस्तकमा सिन्डिकेट लगाएर संघले गैरकानुनी क्रियाकलाप गरेको बताउँदै यस्ता पसलको दर्ता खारेज गर्नुपर्ने बताए । उनले कमिशनका लागि बजार नियन्त्रणको प्रयास गर्नु गैरकानुनी भएको भन्दै यस्ता गतिविधी रोक्न सरोकारवाला सबै सक्रिय हुनुपर्नेमा जोड दिए ।

यसैबीच एन प्याब्सन सप्तरीका अध्यक्ष बौकु साहले सञ्चारकर्मीहरुसँग कुरा गर्दै केही पुस्तक व्यवसायीहरु मिलेर सिन्डिकेट खडा गरेकोमा तीव्र असन्तुष्टि र आपत्ति जनाउँदै पुस्तक व्यवसायी संघको यस्तो निर्णयले विद्यार्थी र अभिभावक दुबै मारमा परेकोले यस्तो क्रियाकलाप रोक्नु पर्ने माग गरेका छन् ।

यसबारे पुस्तक व्यवसायी संघका उपाध्यक्ष सकिल अन्सारी संघले जिज्ञासा राख्दा उनले पुस्तक व्यवसायीहरुको पेशागत हकहित र सांगठनिक सुदृढताका लागि संघले त्यस्तो निर्णय गरेको बताए ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पाठ्यपुस्तक बिक्री बितरणमा एकलौटी गरिएको सन्दर्भमा विभिन्न ठाउँबाट गुनासाहरु आएको बताउँदै यसबारे आफूले आवश्यक पहल गर्ने बताए ।

तपाइको मत