१७ भदौ ०७६, काठमाडौं । आन्तरिक राजस्व कार्यालय सिमराका कम्युटर अपरेटर सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका छन् ।
राजस्व कार्यालय सिमराका कम्युटर अपरेटर सुदिप लामालाई सेवाग्राहीसँग चालीस हजार घुस लिदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको टोलीले पक्राउ गरेको हो ।
लामो समयदेखि कारोबार नभएको पान नं. बन्द गर्न सहजीकरण गरिदिने र राजस्व रकम समेत छुट गरीदिने बहानामा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १, सिमरा बजारमा रहेको किराना पसल अगाडिबाट उजुरीको आधारमा उनलाई रंगेहात पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय, बाराको मुद्दा फाँटमा करार सेवामा पूर्व कार्यरत कहरिमोहन सिंह क्षेत्री सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका छन् ।
उनलाई सूचनाको आधारमा सेवाग्राहीसँग एक लाख रुपैया घस लिँदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको टोलीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले माग गरेको जग्गा सम्बन्धी कागजातहरू नपठाई केही समयको लागि रोकेर राखिदिने बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिदालिदै कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।













