राज्य व्यवस्था समितिको निर्देशन विरुद्ध माईतीघरमा प्रदर्शन

२८ जेठ ०७६, काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोधमा प्रदर्शन सुरु भएको छ ।

स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने विज्ञापन तत्काल रद्द गर्न लोक सेवा आयोगलाई समितिले सोमबार दिएको निर्देशनको विरोध गर्दै लोक सेवा तयारी तदर्थ संघर्ष समितिले काठमाडौंको माईतीघर मण्डलाबाट आन्दोलन सुरु गरेका हुन् ।

संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरुद्ध सो निर्देशन दिएकाले त्यसका विरुद्ध सडक संघर्ष सुरु गरेको बताए । उनीहरुले राज्य व्यवस्था समितिले सो निर्देशन फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन ।

विद्यार्थीहरुले स्थानीय तहमा करारमा कर्मचारी राखेर लोक सेवा आयोगको अधिकार क्षेत्रमाथि हस्तक्षेप नगर्न समेत समितिलाई चेतावनी दिएका छन ।

उनीहरुले ‘जनताको हित विरुद्ध निर्णय लिने राज्य व्यवस्था तथा सुशासन समिति चाहिँदैन्’, ‘लालबाबु पण्डित आफ्नो अडान कायम राख’, ‘पूर्व निर्धारित लोक सेवा आयोगको परीक्षा सञ्चालन गर’ जस्ता प्लेकार्डसहित चर्का नाराबाजी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनप्रति आक्रोश व्यक्त गरेका थिए ।

तपाइको मत