१३,मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्पूर्ण देशभक्तहरु एकढिक्का भएर राष्ट्रघाती संविधान संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताएका छन् ।
“राष्ट्रघाती संविधान संशोधन प्रस्तावको विरुद्ध संघर्ष गरौं, तराईलाई पहाडबाट अलग गरी सिमाङ्कन गर्ने कार्यको विरोध गरौं” भन्ने मूलनाराका साथ शनिबार आयोजित विरोध कार्यक्रममा केसीले संविधान संशोधन प्रस्ताव असफल पार्नु पर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संशोधन प्रस्तावले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता संकटमा परेको भन्दै सडकमा उत्रिएका केसीले अहिलेकै प्रस्तावमा संविधान संशोधन भए देश सकिने चेतावनी समेत दिए ।
संविधान संशोधनविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले लिएको अडानको प्रशंसा गर्दै केसीले यसै प्रकरणमा बाह्य शक्तिबाट एमालेमाथि ठूलो दबाब आउने र पार्टी फुटाल्ने खतरा पनि रहेको बताए । नेता केसीले संविधान संशोधनले देश पनि सकिने र प्रधानमन्त्री प्रचण्डको राजनीति पनि सकिने चेतावनी दिए ।