राष्ट्रपतिको कदम : सत्तारुढ दलको विरोध, एमालेको समर्थन

५ असोज ०७९, काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसंविधान उल्लङ्घन गरेको भन्दै रिट पेश भएको छ ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संविधानको धारा १०, ११, १२, १३, १४, १५ १६(१), १८(१), ६६(१), १११ र ११३(४) को गम्भीर उल्लङ्घन गरेको भन्दै रिट निवेदनमा विधेयक प्रमाणीकरण गर्न आदेश जारी हुनुपर्ने माग दावी गरिएको छ ।

अधिवक्ता डा. सुनिलरञ्जन सिंह समेतले पेश गरेको रिट बुधबार सर्वोच्च अदालतमा दर्ता हुन सकेन । तथापि, सर्वोच्च अदालतका कर्मचारीहरुले बिहीबार निवेदन दर्ता हुने बताएको अधिवक्ता सिंहले जानकारी दिए ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिमाथि गम्भीर प्रश्न उठाएका छन् ।

उपराष्ट्रपति पुनले वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका हुन् ।

यस्तै बुधबार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको कदम भएको बताएका छन् ।

यसैगरी नागरिकता विधेयक प्रमाणीकरणका विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा सडक प्रदर्शन सुरु भएको छ ।

सत्तारुढ गठबन्धन दलका कार्यकर्ताहरु राष्ट्रपतिको कदमको विरोधमा र एमाले कार्यकर्ताहरु समर्थनमा सडकमा उत्रिएका छन् ।