१० भदौ ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिममा विशेष चाडकारूपमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् ।
कोरोना महामारीबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले एक सन्देशमार्फत् स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी हुन् ।
विशिष्ट सांस्कृतिक चाड गौरा पर्वले विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीबीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुगोस् भन्ने उनले शुभेच्छा व्यक्त गरेकी छन् ।
यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले सन्देशमार्फत् विशेष गरी सुदूरपश्चिममा गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको उल्लेख गरेका छन् ।
हरेक वर्ष भदौको शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरीको आराधना गौरा गर्ने, पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादका रूपमा ग्रहण गर्ने, देउडा, धमारी र ढुस्को खेल्ने, विदेश गएकाहरु घर फर्कने साथै महिलाहरू माइत जाने प्रचलन छ ।