३ असोज ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा प्रगति र समृद्धिकाे शुभकामना व्यक्त गरेकी छन् ।
तेस्रो संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले मंगलबार दिएको शुभकामना सन्देशमा संविधानसभाबाट निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिनलाई एेतिहासिक भएको उल्लेख गरेकी छन् ।
‘संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक र सङ्घीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ’ राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘यी सबै निर्वाचनले राज्य सञ्चालनका संवैधानिक र कानुनी व्यवस्था एवं लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।
राष्ट्रपति भण्डारीले आजको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्ने र यसप्रति सबै नेपाली कृत्सङ्कल्पित हुने विश्वास व्यक्त गरेकी छन् ।