२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीतल निवासमा विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका पदभार ग्रहण गर्दै देश र जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्री दाहाल लैनचौर पुगेर सहिद स्तम्भमा, चुनदेवी पुगेर पुष्पलाल श्रेष्ठको सालिकमा माल्र्यापण गरे । त्यसपछि माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरे ।
लगतै सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रचण्डले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो चार प्राथमिकता सुनाए ।
प्रधानमन्त्री प्रचण्डले पहिलो प्राथमिकता मधेसी, थारु, जनजाति लगायतले उठाएका मुद्धा सम्बोधन गरेर अन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने र नयाँ संविधानलाई अधिकतम सर्वस्वीकार्य बनाउने बताए ।
दोस्रो प्राथमिकता संविधान कार्यान्वयन हो । भूकम्पपछिको पुन:र्निर्माण सुस्त भएको भन्दै उनले त्यसलाई तिव्रता दिनु आफ्नो तेस्रो प्राथमिकता भएको बताए ।
चौथो प्राथमिकता आर्थिक सम्बृद्धि र विकास निर्माण जनताको चाहना रहेको भन्दै प्रचण्डले तत्कालीन, मध्य र दीर्घकालीन आयोजनामार्फत रोजगारी सृजना गर्ने योजना बताए ।
जनताले धेरै अपेक्षाहरु गरेका र आफूले पनि १० वर्षमा जे अनुभव हासिल गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले धेरै कुरा भन्दा पनि देश र जनताको पक्षमा काम गर्ने मनस्थिति बनाएको बताए ।