राष्ट्रपति–उपराष्ट्रपतिको सुविधा विधेयकमा सहमति

२८ भदौ ०७४, काठमाडौं । संसदको सुशासन तथा अनुगमन समितिले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमा सहमति जुटाएको छ ।

मंगलबार राष्ट्रपति–उपराष्ट्रपतिले खाईपाई आएको सेवा, सुविधालाई कानुनीरुप दिन सरकारले सदनमा ल्याएको विधेयकलाई समितिले सामान्य परिमार्जनसहित पारित गरेको हो ।

जसअनुसार राष्टपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० ले निरन्तरता पाएको छ । राष्ट्रपतिले प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च पनि पाउछन् । पोशाकभत्ता राष्ट्रपतिले वार्षिक २५ हजार रुपैयाँ र उपराष्ट्रपतिले २० हजार रुपैयाँ पाउँछन् । सरकारी आवास सुविधा पाउने दुबै पदाधिकारीको सवारी साधन, आवश्यक पर्नेजति इन्धन, मोविल र मर्मत खर्च राज्यकोषबाटै व्यहोरिन्छ ।

विधेयकले राष्ट्रपति र उपराष्ट्रपतिको सचिवालयमा यसअघि नै नियुक्त भई कार्यरत कर्मचारी तथा विज्ञलाई यसै ऐनअनुसार नियुक्त भएको मानिने गरी वैधानिकता दिएको छ । राष्ट्रपतिको स्वकिय सचिवालयमा विशिष्ठ श्रेणी र प्रथम श्रेणी सरहको १/१, द्वितीय श्रेणी सरहको २, तृतिय श्रेणी सरहको ४, नायव सुव्वा सरहको प्रेस संयोजक, कम्प्युटर सहायक तथा फोटोग्रोफर १/१ र कार्यालय सहयोगी र सवारी चालक ४/४ को दरवन्दी स्वीकृत भएको हो । विधेयकले राष्ट्रपतिका ७ र उपराष्ट्रपतिका ५ विज्ञ (सल्लाहकार) लाई पनि वैधानिकता दिएको छ ।

तपाइको मत