८ फागुन ०८१, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्की ‘तानाशाही’ भएको आरोप लगाएका छन् ।
जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् ।
उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् ।
जेलेन्सीको राष्ट्रपतिको कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने थियो । तर सन् २०२२ को फेब्रुअरीदेखि रुससँग युद्ध सुरु भएपछि त्यहाँ चुनाव हुन सकेको छैन ।
ट्रम्पले यसअघि जेलेन्स्कीको लोकप्रियता जम्मा चार प्रतिशत रहेको समेत बताएका थिए । तर बीबीसीको फ्याक्टचेकमा अझै पनि ५७ प्रतिशत युक्रेनी जनता जेलेन्स्कीको पक्षमा रहेको पाइएको थियो ।
ट्रम्पले जेलेन्स्की केन्द्रित लामो स्टाटस ट्रुथ सोसलमा पोष्ट गरेका छन् । उनले जेलेन्स्कीलाई ‘कमेडियन’ भनेर पनि आलोचना गरेका छन् ।
ट्रम्पले भनेका छन्, ‘मैले युक्रेनलाई माया गर्छु तर जेलेन्स्कीले धेरै नराम्रो गरेका छन् । उनको देश खत्तम भइसकेको छ । लाखौं व्यक्ति अनाहकमा मारिइरहेका छन् ।’
अघिल्ला राष्ट्रपति जो बाइडेन नेतृत्वको अमेरिकी सरकारले युक्रेनलाई साढे तीन सय अर्ब डलर दिएको तर अमेरिकाले केही पनि नपाएको टिप्पणी ट्रम्पले गरेका छन् ।