राष्ट्रसङ्घका महासचिव गुटरेसले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्दै

१२ कार्तिक ०८०, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।

महासचिव गुटरेस राति १ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउद विमानस्थल पुगेर महासचिव गुटरेसलाई स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटरेसले नेपाल भ्रमणको पहिलो दिन आज आइतबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी महासचिव गुटरेसले उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

यसैगरी संसद् सचिवालयकाअनुसार भ्रमणका क्रममा महासचिव गुटरेस नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम समेत रहेको छ । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।