१२ जेठ ०७७, तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका युवा नेता शंकर रानाभाट ‘सनिस’ले भुटानको रक्षा र विदेश नीति भारतीय कब्जामा रहेको भन्दै भारत अतिक्रमित नेपाली भूभाग फिर्ता लिन देश एकढिक्का भएर लाग्नुपर्ने बताएका छन् ।
उनले कुनै पनि छिमेकी देशसँग भारतको राम्रो सम्बन्ध नरहेको भन्दै सामाजिक सञ्जालमार्फत् अतिक्रमित भूमि फिर्ता लिन देश एकढिक्का भएर लाग्नुपर्ने बताएका हुन् ।
“श्रीलङ्कासँग जाफ्ना, पाकिस्तानसँग काश्मिर, चीनसँग लद्दाख, नेपालसँग लिम्पियाधुरा, लिपुलेख, कालापानी, सुस्ता लयागतका भूभाग, बंगलादेशसँग हालसालै सट्टापट्टा गरेर सीमा बिबाद टुङ्गियो भनिएको, भुटानको रक्षा तथा विदेश नीति समेत इन्डियनहरुको कब्जामा छ,” सनिसले लेखेका छन्, “नेपाली बीच एकआपसमा राजनैतिक, सैदान्तिक मतभेद हुनसक्छ तर राष्ट्रियताका सवालमा कुनै किसिमको मतभेद हुनु हुँदैन । भारतीय हस्तक्षेपविरुद्ध र अतिक्रमित भूमि फिर्ता लिन नेतृत्वलाई पूर्णरुपमा सहयोग गरौँ, सत्तापक्ष–प्रतिपक्ष नभनी एकजुट बनौँ ।”
अतिक्रमित भूमिको विषयमा समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पछिल्ला अभिव्यक्तिको कटाक्ष गर्दै उनले एक जना सपुतले गोरखा जिल्लाबाट राष्ट्र एकीकरण सुरु गरी बिशाल नेपाल बनाए; गोरखा जिल्लामै जन्मिएका अर्को कपुतले देश सिक्किम जस्तै गरी भारतलाई बुझाउन प्रयासरत रहेको बताएका छन् ।
उनले विभिन्न समयमा भएका सन्धिहरु, ऐतिहासिक दस्तावेज, तथ्य र प्रमाणका आधारमा नेपाल–भारत सीमा विवाद हल गर्नुपर्ने भन्दै यस सवालमा स्वघोषित एकल बुद्धिजीवीको बिमति रहे जेएनयू फिर्ता पठाउनु पर्ने समेत बताएका छन् ।
सरकारले हालै नेपालको नक्सालाई अद्यावधिक गरी राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरिएकोप्रति स्वागत योग्य कदम भन्दै उनले नेपाल–भारत सीमा विवादलाई विभिन्न समयमा भएका सन्धिहरु, ऐतिहासिक दस्तावेज साथै तथ्य र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट हल गर्दै अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।