राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको पशुपति आर्यघाटमा अन्त्यष्टि

३ भदौ ०७७ काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मानका अन्त्यष्टि गरिएको छ ।

मंगलबार साँझ निधन भएका राष्ट्रकवि घिमिरेको बुधबार बिहान पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका अन्त्यष्टि गरिएको हो ।

नेपाली सेनाका मानार्थ ब्रिगेडियर जनरल समेत रहेका राष्ट्रकवि घिमिरेको शवलाई सेनाले स्कर्टिङ गरेर पशुपति पु¥याएको थियो भने नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

लमजुङको पुस्तुन गाउँमा पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट वि.सं १९७६ असोज ७ गते जेठा सन्तानका रुपमा जन्मिएका घिमिरेको भौतिक शरीर नरहे पनि उनले नेपाली साहित्य भण्डारमा दर्जनौं काव्य, कविता संग्रह, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद कृतिहरू छाडेर गएका छन् ।

उनका ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’, ‘गाउँ छ गीत नेपाली’, ‘फूलको थुङ्गा बहेर गयो गंगाको पानीमा’ लगायत कालजयी गीतहरु नेपाली जनमनमा प्रगाढ बनेर बसेका छन् ।

नेपाल सरकारका तर्फबाट राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त

नेपाल सरकारका तर्फबाट राष्ट्रकवि घमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनकै निवासमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यसैगरी राष्ट्रकविको अन्त्यष्टिमा आर्यघाट पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै राष्ट्रकविको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका राजनीतिक दलका शीर्षस्थ नेता, कार्यकर्ता, साथै शुभ चिन्तकहरुले हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा १०१ वर्षको उमेरमा निधन भएको थियो ।