शहिद गौतमको अन्त्येष्टिमा हजारौ जनता उपस्थित
२९ फागुन, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली गौविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गरिएको छ ।
कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका पिता ७२ बर्षीय खेमलाल गौतमले दागबत्ती दिए । गौतमको अन्त्येष्टी कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौं नागरिकले स्वतः स्फुर्त सहभागिता जनाएका थिए ।
यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । होली नमनाउने घोषणा गर्दै कैलाली र कञ्चनपुरका हजारौंले शवयात्रामा सहभागिता जनाएका थिए ।
सरकारले शहीद घोषणा गरिसकेका गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो ।
उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सीधै दोदा नदी किनार लगिएको थियो ।
नेपाल-भारत सीमाभन्दा निक्कै वर आनन्दबजारमा कल्वर्ट राख्ने बिषयमा सुरु भएको विवादले उग्ररुप लिँदा भारतीय एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए ।