२६ भदौ ०७५, राजविराज । राजविराज नगरपालिका ५ नम्बर वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् ।
बाढी पीडितको नाममा विगतमा भएको सहमति अनुसार राहत वितरण नगरेको विषयलाई लिएर स्थानीयवासीले नाराबाजी गर्दै वडा अध्यक्ष समिर झा र कर्मचारीहरुलाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरेका हुन् ।
उनीहरुले फर्जी नाम हटाई वास्तविक बाढी पीडितको नाम समावेश गरेर मात्र राहत वितरण गर्ने सहमति विपरित केहीलाई राहत रकम वितरण गरेको र केहीलाई छुटाएको भन्दै वडावासीले अघिल्लो दिन वडा कार्यालय खुल्न साथ विहान १० बजे तालाबन्दी गरेका थिए ।
सरकारी राहत समायोजन गरी वितरण गर्ने सहमतिविपरित वडा कार्यालयले काखापाखा गर्दै केहीलाई वितरण गरी केही राहत रकम फिर्ता गरेकोले विरोधस्वरुप तालाबन्दी गरेको स्थानीय संजय दासले बताए ।
त्यस्तै, एउटै व्यक्तिको नाम दुईपटक, एउटै परिवारका चारजनाको नाम छुट्टा–छुट्टै र क्षति नभएका पक्की घरहरु पूर्ण क्षतिमा र भत्किएर ढलेका घरहरु सामान्य क्षतिमा पारेको स्थानीय अभिमन्यु दासले बताए ।
वास्तविक बाढी पीडितहरुलाई राहतवाट वञ्चित गराई हुनेखानेहरुको नाममा राहत आएको भन्दै बाढी पीडितहरुले गत चैत १५ गते पनि वडा कार्यालयमा तालाबन्दी गरेका थिए । सोही पछि नामाबलीमा गम्भिर त्रुटी भएको वडा कार्यालयले स्विकार गर्दै बाढी पीडितहरुको स्थलगत अनुगमन गरेर नाम संशोधन गरी सोही अनुरुप राहत रकम वितरण गर्ने निर्णय गरेपछि गत चैत १८ गते ताला खुलेको थियो ।
बाढीबाट डुबान नभए पनि तत्कालिन वडा सचिव दिपेन्द्र रोशन, वडा सदस्यहरु पार्थो सरकार र संगिता कर्णले आफ्नो र आफन्त सबैका घरहरु पूर्ण क्षति भएको लिष्टमा पारेको वाढी पीडितहरुको आरोप छ ।
पछिल्लो वर्ष साउनको अन्तिम साता आएको बाढीले राजविराज ५ को दक्षिणी–पश्चिमी भेग पूर्ण प्रभावित बनेको थियो ।
बाढीले बास्तविक पीडितभन्दा पनि आफ्नो नातेदार, आसेपासे र स्वयंलाई राहत बाँडेको र वास्तविक पीडितले राहत नपाएको देबकुमारी शर्माले गुनासो गरिन् ।
पछिल्लोपटक बाढीबाट पूर्ण रुपमा घर क्षति भएका परिवारहरुलाई नेपाल सरकारले २५ हजारका दरले राहत उपलब्ध गराउन रकम पठाए पनि विवादका कारण राजविराज नगरपालिकाले १ करोड, ३० लाख २५ हजार रकम वितरण गर्न नसकी फिर्ता पठाएको छ ।
राजविराज नगरपालिकाले १ हजार ६ सय ३७ बाढी पीडित परिवारका लागि राहत वितरण गर्न कुल ४ करोड नौ, ९ लाख, २५ हजार रुपैयाँ बुझेकोमा विवादका कारण २ करोड ७९ लाख राहत रकम मात्र वितरण गरेको नगर प्रमुख शम्भु यादवले बताए ।
वडा अध्यक्ष झाले वडा नम्बर ५ को ८६ जनामध्ये वास्तविक पीडित ५५ जनालाई राहत वितरण गरी अन्यको फिर्ता गरिएको बताए । पीडित नभएकाहरुको नाममा रकम आएको तर केही पीडितले राहत नपाएको स्वीकार गर्दै उनले नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयले यसबारे पहल गर्नुपर्ने बताए ।