४ असार ०७४, रुकुम । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुममा स्थानीय तहको निर्वाचनका लागि अन्य दलले तालमेलको प्रस्ताव ल्याए पनि रुकुमका जनताले अस्वीकार गरिदिएको बताएका छन् ।
सिस्ने गाउँपालिकाको रुकुमकोटमा आइतबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै गृहमन्त्री प्रभाकरले रुकुमका जनताले तालमेल होइन, माओवादी चाहान्छन् भनेर आफूले फर्काइदिने गरेको बताए ।
माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका शर्माले रुकुमका क्रान्तिकारी जनताको चाहना माओवादी मात्र भएको बताउँदै पहिलो चरणको स्थानीय तहको निर्वाचन जस्तै दोश्रो चरणको निर्वाचनमा पनि रुकुममा माओवादीको मात्र जित हुने दाबी गरे ।
गृहमन्त्री शर्माले स्थानीय तहको निर्वाचन मार्फत रुकुममा अब वैधानिक रुपमै जनसत्ता चलाउने समेत बताए ।
आफूहरु जनताको कामदार भएको बताउँदै मन्त्री शर्माले रुकुमेली जनताको माओवादीप्रतिको समर्पणले आफूलाई काम गर्ने ऊर्जा प्राप्त भएको बताए ।
निर्वाचनको शिलशिलामा रुकुम जिल्ला दुई प्रदेशमा विभाजित भएको सन्दर्भमा मन्त्री शर्माले राम्रो विकल्पका लागि आफूहरुले सरसल्लाह गरिरहेको जानकारी दिए ।
सोही चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा रुकुम क्षेत्र नम्बर १ का सांसद गणेशमान पुनले स्थानीय तहको निर्वाचनलाई विवेकको मतदान गरेर सम्पन्न गर्न आह्वान गरे ।