१७ भदौ ०७४, काठमाडौं । अखिल क्रन्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनबाट झापाका रञ्जित तामाङले निकटतम प्रतिद्वन्द्वी रुकुमका अनिल शर्मालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङ बायाँ र प्रत्यासी अनिल शर्मा दायाँ ।
खुलातर्फबाट उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।
त्यस्तै महासचिवमा उत्तम अधिकारी निर्वाचित भएका छन् भने उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी थिइन् ।
यसैगरी कोषाध्यक्षमा केशव रावल, खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् ।
नयाँ नेतृत्व चयन गरेसँगै यही भदौ ७ गतेदेखि सुरु भएको सम्मेलन सकिएको छ ।
अध्यक्षका प्रत्यासी अनिल शर्माले आफू पराजित भएपनि पहिलो पटक निर्वाचन मार्फत नेतृत्व चयन भएकोमा खुसी व्यक्त गरेका छन् ।
विद्यार्थीहरुको मतलाई सहज रुपमा स्वीकार गर्ने भन्दै शर्माले निर्वाचित अध्यक्ष रञ्जित तामाङलाई बधाइसहित कार्यकालमा राम्रो काम गर्न सुझाएका छन् ।
त्यस्तै अध्यक्षमा विजयी रञ्जित तामाङले निर्वाचन गर्ने परिपाटीले टिकेप्रथाबाट नेतृत्व छानिने भन्दै संगठनमाथि लाग्ने आरोपको अन्त्य भएको बताए ।
नवनिर्वाचित अध्यक्ष तामाङले कसैको विजय पराजयभन्दा पनि विधि, पद्धतिअनुसार स्वस्थ प्रतिस्पर्धा मात्रै भएको बताए ।