रोगले भन्दा भोकले मर्नेस्थिति बन्यो भने बन्दाबन्दीको अवज्ञा र साहुका घर कब्जा हुन्छ – अन्टुफ अध्यक्ष जगत सिम्खडा

२४ असार ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले श्रमिकहरु रोगले भन्दा भोकले मर्नेस्थिति बन्यो भने रोजगारदाताका घर कब्जा गरेर मजदुरलाई राख्न बाध्य हुने बताएका छन् ।

मंगलबार महासंघ केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल अटो मोबाइल्स मजदुर संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सिम्खडाले यस्तो बताएका हुन् ।

बागमती प्रदेश सांसद एवम् महासंघका अध्यक्ष सिम्खडाले भने, “श्रमिकहरु रोगले भन्दा भोकले मर्नेस्थिति बन्यो भने बन्दाबन्दीको अवज्ञा हुनेछ । यदि रोजगारदाताले बाहनावाजी गरेर मजदुर निश्कासन गरेको अवस्थामा हामी साहुहरुका घर कब्जा गरेर मजदुरलाई राख्न बाध्य हुनेछौं ।”

पत्रकार सम्मेलनमा अध्यक्ष सिम्खडाले राखेको धारणाको सम्पादित अंश :

यो कोभिड महामारीका बेला हुनेहरुले नहुनेलाई साथै संकटमा परेकाहरुलाई सहयोग गरेर मानवता देखाउने बेला हो । तर, यही परिवेशमा श्रम क्षेत्रमा केही प्रतिनिधिमुलक घटनाहरु घटेको देख्न सकिन्छ । अछामको बयलपाटा अस्पतालका मजदुरले जागिरबाट निश्कासन भएपछि व्यवस्थापनसँग हारगुहार गर्दा सुनुवाई नभएपछि अस्पताल परिसरमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउनु पर्ने दुखद अवस्था बन्यो । त्यस्तै धादिङको सूर्य बहादुर तामाङ भोको पेट लिएर, नाम्लो हातमा बोकेर हिँडिरहेको अवस्थामा खान नपाएर नाम्लो छात्तीमा राखेर भोकको कारण सडकमै निधन भएको हामीले देख्यौं । यस्तै यातायात मजदुर भिम बहादुर कार्की मनोहरा पुलबाट हाम्फालेर आत्महत्या गर्नेस्थिति बन्यो । आज मात्रै एक जना निर्माण मजदुर आत्महत्या गरेको कुरा छ । वास्तवमा अहिले मजदुरहरु डिप्रेसनमा जाने स्थिति बनेको छ । कोठा भाडा तिर्न नसक्ने, बच्चाहरुलाई पढाउन नसक्ने मूलतः छाक टार्न नै नसक्नेस्थितिमा पुगेका छन् ।

अहिले हामी संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) एफएनसीसीआईसँग चम्बर अफ कमर्ससँग, सिएनआईसँग अन्य थुप्रै रोजगारदाताहरुको संगठनसँग छलफलमा छौं । हामी औधोगिक प्रतिष्ठान साथै श्रमिकलाई बचाउनु पर्दछ भनिरहेका छौं । हामी सबै बाच्ने सवालमा रोजगारदातालाई हामीले भन्ने के हो भने, श्रम कटौती गर तर रोजगारीबाट निश्कासन नगर । श्रम कटौती भनेको भनेको ८ घण्टा काम हुन्थ्यो भने ४ घण्टा मात्रै काम देउ र अहिलेको अवस्थामा तलब आधा नै देउ । हामी काम गरेर खान चाहन्छौं । यस्तै रोजगार कटौती भनेको जागिरबाट निश्कासन नगर भन्ने हाम्रो कुरा हो ।

हामीले सरकारले निर्णय गरेको बाहेक थप सेवा साथै तलब दिनु पर्दछ भनिरहेका छैनौं । तर, यही संकटका बेला विभिन्न बाहना बनाई ठूला घरानियाहरुले नै श्रमिक निश्कासन गर्ने कार्य गरिरहेका छन् । हाम्रो संगठनले अहिले रोजगारदाता र सरकारलाई गर्ने अनुरोध के हो भने, बाँच्न देउ, भोलि तिम्रा प्रतिष्ठानहरुमा पसिना बगाउँला । हाम्रा सदस्यहरुले पसिना बगाउने छन् । त्यतिबेला मुनाफा कमाउनु होला । यस्तो संकटमा अहिले जागिरबाट निकाल्नु भनेको सिधै आत्महत्या गर भन्ने नै हो । त्यो स्थिति निर्माण गर्ने छुट सरकार र रोजगारदाताहरुलाई छुट छैन् ।

सरकारले पनि श्रमिकका सवालमा चैत्र र बैशाख महिनाको तलबसम्बन्धी बोल्यो तर त्यसपछि यत्रो समय गइसक्यो । श्रमिकहरु भोकभोकै मर्नुपर्ने आत्महत्या गर्नु पर्ने अवस्थामा पुगेका छन् श्रमिकका सवालमा बोल्नु पर्दछ । असंगठित क्षेत्रका श्रमिकहरु थप समस्यामा छन् । हाम्रो आग्रह छ, “बयलपाटा अस्पतालका मजदुर सिद्धार्थ आउजीले झैं आफ्नै शरीरमा आगो लगाएर मर्ने दिन नआओस् । मनोहरा पुलबाट हाम्फाल्ने भिम बहादुर कार्की साथै धादिङका सूर्य बहादुर तामाङ जसरी मर्नेस्थिति श्रमिकको नबनोस् ।” यो संकटमा पनि श्रम ऐनका मजदुरविरोधी दफाहरुको दुरुपयोग गरेर मजदुरहरु निश्कासन गरिन्छ भने भोलिका दिनमा त्यस्ता रोजगारदाताका प्रतिष्ठान चल्ने छैन् । ट्रेड युनियन महासंघहरु चुप लागेर बस्ने छैन् । हाम्रो संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मजदुरका सवालमा हिजो पनि लडेको थियो र आज पनि लड्न तयार छ । यदि रोजगारदाता र सरकारले हाम्रा जायज मागलाई सुनुवाई नगर्ने हो भने यो पत्रकार सम्मेलन आन्दोलनको सुरुवात पनि हो ।

यदि कसैले कोरोना महामारीका कारण श्रमिकको मजबुरीको फाइदा उठाएर बन्दाबन्दीमा आन्दोलन गर्न सम्भव छैन् भनेर सोचेको भए भ्रमबाट मुक्त भए हुन्छ । श्रमिकहरु रोगले भन्दा भोकले मर्नेस्थिति बन्यो भने बन्दाबन्दीको अवज्ञा हुनेछ । यदि रोजगारदाताले बाहनावाजी गरेर मजदुर निश्कासन गरेको अवस्थामा हामी साहुहरुका घर कब्जा गरेर मजदुरलाई राख्न बाध्य हुनेछौं । हामीले अहिले देशभर के कति मजदुर निश्कासन भएका छन् भन्ने तथ्याङ्क पनि लिइरहेका छौं ।

हामीले अब कसरी जाने भन्ने विषयमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)मा छलफल गरेका छौं । रोजगारदाताहरुसँग पनि छलफल गर्दैछौं । तर, यही बिचमा पछिल्लो समय बजाज, जगदम्बा, आइएई, कोकाकोला साथै कान्तिपुर मिडिया हाउस लगायतका प्रतिष्ठानहरुबाट मजदुरहरुलाई निश्कासन गरिएको कुरा आएका छन् । ती रोजगारदाताहरुलाई हाम्रो संगठनको आग्रह के छ भने श्रम कटौती गर तर एकजना पनि मजदुर निश्कासन नगर । यदि हाम्रो लचकतालाई कमजोरी ठानियो भने हामी मजदुरका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौं ।