रोजगारदाता साउन १३ को सहमतिविपरीत, श्रमिकलाई राजीनामा वा बेतलबी बिदा बस्न पत्र थमाइयो

७ भदौ ०७७, काठमाडौं । रोजगारदाता र ट्रेड युनियनहरुबीच ०७७ साउन १३ गते भएको सहमतिविपरीत होटल सञ्चालकहरुले श्रमिकलाई राजीनामा कि बेतलबी बिदा बस्न भनेपछि मजदुरहरु आन्दोलित भएका छन् ।

होटल द्वारिकाज साथै सोको आउटलेट धुलिखेल रिसोर्ट र केशर क्याफेबाट १५० भन्दा बढी श्रमिकलाई व्यवस्थापन पक्षले बैठक बोलाएर राजीनामा कि बेतलबी बिदा फराम थमाएपछि होटल मजदुरहरु आन्दोलित भएका हुन् ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केशर क्याफेका उपाध्यक्ष अर्जुन दाहालले रोजगारदाता र जेटियुसीसी आवद्ध ट्रेड युनियनहरुबीच भएको श्रमिकको पारिश्रमिक भुक्तानी, रोजगारी तथा स्वास्थ्य सुरक्षा लगायतका ७ बुँदे सहमति विपरीत होटल तथा क्याफे सञ्चालकहरुले व्यवहार गरेको बताएका छन् ।

उपाध्यक्ष दाहालले अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रले पहल गरेपनि व्यवस्थापनले सुनुवाई नगरेको भन्दै महासंघले पहल लिनुपर्ने बताए ।

होटल द्वारिकाबाट करिब ८०, धुलिखेल रिसोर्टबाट ४० र केशर क्याफेबाट २४ जना कर्मचारीलाई राजीनामा कि बेतलबी बिदा बस्नु भनेर फाराम थमाएको उनले बताए ।

कोरोना कहरको बेला रोजगारदाताले साउन १३ को सहमति अक्षरसः कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् । साथै, उपाध्यक्ष दाहालले अनेहोक्या तथा रेष्टुराँ मजदुर संघ केन्द्र र अन्टुफसँग सल्लाह गरेर आफूहरु अगाडि बढ्ने तयारी गरिरहेको जानकारी दिए ।

बैठक भनेर बोलाई व्यवस्थापन पक्षले आफैं तयार पारेर ल्याएको दुई पत्रमध्ये राजीनामा दिने वा बेतलबी बस्ने ? दुईमा एक विकल्प रोजेर हस्ताक्षर गरी बुझाउन भनिएको उनले जानकारी दिए ।

होटल व्यवस्थापन पक्षले तयार पारेर मजदुरलाई थमाएको पत्र