रौतहटमा बाल पोषण भत्ताको दुरुपयोग : मठियाको सचिवलाई स्थानीयले प्रहरीमा बुझाए

५ साउन ०७४, रौतहट । सरकारले गरिबीको सूचकाङ्कमा परेका तीन जिल्लामा सुरु गरेको बाल पोषण भत्ताको रौतहटमा दुरुपयोग भएको भेटिएको छ ।

सरकारले गरिबीको सूचकाङ्कमा परेका तीन जिल्ला अछाम, रौतहट र बझाङ्गका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गरिरहेको छ । तर, रौतहटमा गाउँपालिकाका सचिवहरुले सम्वन्धित परिवारलाई थोरै रकम दिएर धेरैको भर्पाई गराएको भेटिएको छ ।

रकम हिनामिना गरेको आरोपमा रौतहटको इशनाथ गाउँपालिका वडा नम्वर ४ मठियाको सचिवलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

६ महिनाको कुल २४०० रकम नगद वितरण गर्नु पर्नेमा सचिव राजदेव रामले १६०० रकम दिएका छन् । माघ र फागुनको भर्पाई नदेखाई अभिभावकसँग ल्याप्चे लगाएर दुई महिनाको रकम अनियमितता गरेको अभिभावक रामनरेश कुशवाहाले बताए ।

अस्मीता कुमारी र सुस्मीता कुमारीको नाममा आएको रकम बुझ्न जाँदा चार महिनाको मात्रै रकम दिएर ६ महिनाको भर्पाईमा ल्याप्चे लगाउन खोजेपछि सचिवको बदमासीको पोल खुलेको उनले बताए । स्थानीयले सचिवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् र हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् ।

स्थानीयका अनुसार झण्डै ५ सय बालबालिकाको भत्ता रकम सचिव रामले हिनामिना गरेका छन् ।

 

तपाइको मत