१६ भदौ ०७४, रौतहट । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मधेश अभियानको चौंथो दिन रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी हजारौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहीबार रौतहट जिल्लाका चार स्थानमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, लोकतान्त्रिक फोरम, नेपाल परिवार दल, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी हजारौं जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादीको दाबी अनुसार ३६०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।
रौतहटको गौरमा गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरको नेतृत्वमा विभिन्न क्षेत्रका २०० जना, रौतहटकै राजपुर नगरपालिकामा एमाले नेता शेख जावेर अलि, राजपा नेता अच्छेलाल साह, कांग्रेस नेता इसा महम्मद, कांग्रेस नेता महादेव साह लगायत १७ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
त्यस्तै, गरुडामा आयोजना गरिएको प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधिर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवाल लगायतका नेताहरुको नेतृत्वमा १२०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
त्यसै गरी कनकपुर नगरपालिकामा आयोजित चुनावी सभामा ५ सयजना स्थानीय नेता—कार्यकर्ता माओवादी प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल, नेता मातृका यादव, सहरी विकासमन्त्री प्रभू साहलगायतले पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले हिमाल, पहाड र मधेस मिलेर बनेको नेपालको राष्ट्रिय एकताका पक्षमा उभिन सबैलाई अपील गर्दैै – पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उचाल्ने र जनताको बीचमा भीडन्त गराएर राजनीतिक स्वार्थ पूर्ति गर्ने अतिवादी र नश्लवादीहरुलाई चिनेर माओवादी केन्द्रले उठाएको पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।