लक्ष्मी घर्तीको हत्या आरोपमा चार जना पक्राउ

१६ असोज ०८०, धनगढी । प्रहरीले कञ्चनपुर पुनर्बास नगरपालिका–३ बस्ने लक्ष्मी घर्तीको हत्या आरोपमा चार जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार घर्तीको हत्या आरोपमा कञ्चनपुर बेलौरी नगरपालिका–१ का २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउपालिका–१ नौरङ्गाका ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय परशु राना पक्राउ परेका छन् ।

प्रहरी निरीक्षक पन्तले एकजना आरोपित लालझाडीका ३० वर्षीय राजकुमार राना भने फरार रहेको र खोजी भइरहेको बताए ।

२९ भदौको साँझ मामाघर जान्छु भनेर घरबाट निस्किएकी घर्तीको भोलिपल्ट शव भेटिएको थियो ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिनको अनुमति लिइसकेको प्रहरीले जानकारी दिएको छ ।