देवराम यादव/५ साउन ०७७, सप्तरी । सप्तरीमा वर्षाका कारणले हुलाकी सडकखण्ड अवरुद्ध हुँदा हजारौँ सर्वसाधारण आवत जावतमा समस्या परेका छन् ।
हुलाकी राजमार्ग निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीको लापर्वाहीका कारण विगत लामो समयदेखि सो सडकखण्ड जिर्ण बनेको र सम्बन्धित निकायको समेत समयमै ध्यान नपुग्दा सडकखण्ड अवरुद्ध भई सर्वसाधारण आवागमनमा समस्या उत्पन्न भएको हो ।
केही दिन अघिको बर्षाका कारण राजविराज कञ्चनपुर सडकखण्ड अन्तर्गत हुलाकी सडकखण्डको पडरीया, विरोल, पकरी, बनौली, डीमन, गोईठी, त्रिकोल, लगायतका स्थानका सडकमा पैदल आवत जवात गर्न नसकिने अवस्था रहेको स्थानीयबासीको भनाई छ ।
स्थानीय महादेवा गाउँपालिकाका पकरी सोनरा निवासी वासुदेव यादवका अनुसार बर्षाका कारण सडक हिलोमय बनेपछि सर्वसाधारणहरु सदरमुकाम राजविराज आवत जावत गर्न नसक्ने अवस्था रहेको बताए ।
यस्तै कञ्चनरुप नगरपालिका १२ का डम्बर राईले सम्बन्धित ठेकेदारमाथि आवश्यक कार्बाही गर्नुपर्ने बताएका छन् ।