२१ चैत्र ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई स्थापित, लोकप्रिय, बढी बिक्ने भन्ने पत्रिकाले मेलम्चीको पानी काठमाडौंमा आएको समाचार नदिएको बताएका छन् ।
शनिबार बालुवाटारमा आयोजित सडक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा मागिएको विषयमा समाचार छाप्ने एउटा राष्ट्रिय पत्रिकाले मेलम्चीको पानी काठमाडौंमा आएको थाहा नपाएको बताएका हुन् ।
पत्रिकाको नाम उल्लेख नगरी उनले भने, “बहुत आफूलाई स्थापित, राष्ट्रको सबभन्दा ठूलो, बहुत लोकप्रिय, बढी बिक्ने भन्ने अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार चैं दिँदैन । तर, दिनैपिच्छे प्रधानमन्त्रीको राजीनामा मागेको चैं त्यो अखबारले छाप्छ ।”
आफूले कसैप्रति लक्षित नगरेको भन्दै राष्ट्रपति, प्रधानमन्त्री गएको ठाउँमा सो पत्रिकाको सम्वाददाता नपुग्ने साथै लाइभ देखाएको हेर्न भ्याउने रिपोर्टर पनि नभएको उनले बताए ।