१७ जेठ ०७८, काठमाडौं । विपक्षी चार दलले आज लुम्बिनी प्रदेशमा साेमबार हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनकाे मतदाता नामावली निर्वाचन आयोगले संशोधन गरेपछि विराेध जनाएको छ ।
लुम्बिनी प्रदेशमा आज हुने राष्ट्रियसभा उपनिर्वाचनकाे अघिल्लो दिन आइतबार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै मतदाता नामावली निर्वाचन आयोगले संशोधन गरेपछि विराेध जनाएको हाे ।
जसपा नेपालले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा सांसद पद नरहने गरी कारवाही गरेकाे सन्तोष पाण्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन रायमाझी शर्मालाई निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनका लागि आइतबार मात्रै मतदाता कायम गरिदिएको छ।
यी चारैजनालाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै सांसद पदमा यथावत राख्न निर्देशन दिएको थियो ।
विपक्षी दलले निर्वाचन कार्यतालिकाअनुसार मतदाताको अन्तिम नामावली प्रकाशित भइसकेकाे अवस्थामा यी चार जनालाई मतदाता नामावली नै सच्याएर मतदानमा समावेश गर्न नहुने भनी आपत्ति जनाएका छन् ।