लुम्बिनीमा ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने नियम हटाउन यातायात मन्त्रीको निर्देशन

२६ पुस ०८०, दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापाले ट्रायलमा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका छन् ।

बुधबार दाङ देउखुरीको मसुरियास्थित मन्त्रालयको कार्यकक्षमा मन्त्री थापाले सचिव उमेश ढुंगानासहित यातायात कार्यालयका प्रमुखहरुलाई बोलाएर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका हुन् ।

‘आफ्नो सवारी साधन हुँदाहुँदै शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियमको जनस्तरबाट व्यापक आलोचना भइरहेको छ,’ मन्त्री थापाले कार्यालय प्रमुखहरुलाई भनेका छन्, ‘स्वेच्छाले सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउनु, के–के निर्णय गर्नुपर्छ, के–के तयारी गर्नुपर्छ गर्नुस् तर ट्रायल दिँदा सवारी साधनको प्रयोग स्वेच्छिक हुनुपर्छ र सेवाग्राहीलाई सहज हुने गरेर परिणाम देखिने गरी काम गर्नुपर्छ ।’

उक्त छलफलमा मन्त्री थापाले लुम्बिनी प्रदेशभित्र रहेका मापदण्ड नपुगेका ट्रायल सेन्टरहरुमा अनुगमन गरेर मापदण्डभित्र ल्याउन निर्देशन पनि दिएका छन् ।