१७ जेठ ०७८, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृग नारायण पाण्डे ४ हजार १ सय ४० मतभार प्राप्त गरी विजयी भएका छन् ।
कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयका प्रतिद्वन्द्वी सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत पाएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार विजयी पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१३ गरी २९६ मत खसेको थियो । प्रदेशसभा र स्थानीय तहतर्फका १/१ मत बदर भएको थियो ।
पाण्डेले प्रदेशसभाको २०१६ र स्थानीय तहको २१२४ गरी कूल ४ हजार १ सय ४० मत र खड्काले प्रदेशसभाको १९२० र स्थानीय तहको १६९२ गरी कूल ३६१२ मतभार प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।