२२ साउन ०७६, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको कर्मचारी भर्नाको विज्ञापनको विरोधमा आरक्षण बचाऔँ आन्दोलनले उल्टो हिँडेर प्रदर्शन गरेको छ ।
बुधबार आयोगले जारी गरेको विज्ञापनमा समावेशी कोटा कटौती गरिएको भन्दै आरक्षण बचाऔं अभियानको नेतृत्वमा आदिवासी जनजाति र दलित समुदायका अगुवाले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म उल्टो हिँडेर प्रदर्शन गरेका हुन् ।
नयाँ बानेश्वरमा पुगेको प्रदर्शनलाई प्रहरीले नियन्त्रण लिन खोज्दा प्रहरी र प्रर्दशनकारीबीच झडपसमेत भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्दा राजकुमार थापा मगर घाइते भएका छन् ।
आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो ।
उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आरक्षण बचाउ अभियानको नेतृत्वमा आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।













