७ जेठ ०७५, झापा । अज्ञात समूहले दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा बम विष्फोट गराएका छन् ।
बम गएराति इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा रहेको वडाध्यक्ष पौडेलको पक्की घरमा विस्फोट भएको हो ।
बिस्फोटबाट बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराएको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए ।
यहीबीचमा पौडेल निवासमा बम विस्फोट भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।













