वडा कार्यालयमा आगजनी, ५ जना प्रहरी नियन्त्रणमा

२७ असोज ०७६, मकवानपुर । थाहा नगरपालिकाको वडा नम्बर ५ को कार्यालयमा आगजनी भएको छ । आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

सोमबार राति वडा कार्यालयमा आगजनी भएपछि आगजनीमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय पालुङले ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूको नाम सार्वजानिक गरेको छैन् ।

प्रहरीले वडा कार्यालय छेवैमा पेट्रोल तथा मट्टितेल लगिएको बोतल भेटिएपछि गहिरिएर अनुसन्धान थालेको थियो । २६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल छर्किएर आगो लगाएको बताइएको छ ।

आगलागीको क्रममा विद्युत मिटर बक्स पड्केको आवाज आएपछि गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।
घटनालगत्तै सुरक्षा प्रमुख थाहा नगरमा

वडा कार्यालयमा भएकोे आगजनीको घटनासँगै मकवानपुरका सुरक्षा प्रमुख थाहा नगर पुगेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विकास घिमिरेसहितकोे टोली घटनाको बारेमा अध्ययनका लागि घटनास्थल पुगेका थिए ।

तपाइको मत