८ माघ ०७६, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सैनामैना सव–डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृतलाई पाँच हजार घुससहित पक्राउ गरेको छ ।
वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठले सेवाग्राहीसँग घर बनाउनका लागि काठ उपलब्ध गराउन भेरिफिकेसन सिफारिस दिएबापत रकम पटक पटक माग गरेको सूचनाका आधारमा बुटवलको टोलीले पाँच हजार घुससहित पक्राउ गरेको हो ।
उनलाई सेवाग्राहीसँग रकम लिइसकेको अवस्थामा बुटलल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादव ५ हजार घुससहित पक्राउ परेका छन् ।
घरमा प्रयोग गरिने नुन, तेल र चिनी लगायतका सामानहरु नेपाल–भारत सिमा बजारबाट खरिद गरी ल्याउन सहज गराउने आस्वासनमा सेवाग्राहीलाई रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी जवान यादवलाई उक्त रकमसहित सुखिपुर नगरपालिका वडा नं. १० स्थित दहिपौडीचोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।