२५ साउन ०७४, जाजरकोट । ताप्लेजुङको सामुदायिक वनमा वनको लगत सर्वेक्षण गर्ने क्रममा २०७३ साल पुस १७ गते हत्या गरिएका वन रक्षक गणेश शाहीको परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।
जाजरकोटका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले स्वर्गीय शाहीको श्रीमती पवित्रा शाहीलाई तीन लाख ७२ हजार २६९ रुपैयाँ ६२ पैसा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन मातहतका सबै कर्मचारीको एक दिनको तलब संकलन गरेर सहयोग गरिएको निजामती यूनियन जाजरकोटका अध्यक्ष बीरबहादुर चन्दले जानकारी दिए ।
शाहीका सन्तानलाई पालनपोषण, भरणपोष र शिक्षाका लागि सहयोग होस् भनी सहयोग गरिएको अध्यक्ष चन्दले बताए ।
स्वर्गीय शाहीलाई नेपाल सरकारले नेपालको पहिलो वन रक्षक शहीद यस अघि नै घोषणा गरिसकेको छ ।
सरकारले वनरक्षक शाहीको नाममा अक्षयकोषको स्थापना गरेर वर्षमा उत्कृष्ट काम गर्ने देशै भरिका वन रक्षकलाई पुरस्कृत गरिने वन विभागका महानिर्देशक कृष्ण आचार्यले जानकारी दिए ।
शाहीको दुई छोरा र एक छोरी छिन् ।