वयोधा अस्पतालमा मृत्यु भएकी ५० वर्षीय महिलामा कोभिड-१९ संक्रमण पुष्टि

१८ साउन ०७७, पर्सा । जिल्लाको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी ५० वर्षीय महिलामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले मृतक महिलाको स्वाब परीक्षण गर्दा आरटी पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

मधुमेह र उच्च रक्तचापको बिरामीसमेत रहेकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ती महिलालाई निमोनियाको लक्षण देखिएपछि उपचारका लागि साउन १४ गते वयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा साउन १६ गते बिहान सबा १० बजे मृत्यु भएकी ती महिलाको मृत्युपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले योसँगै पर्सा जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको समेत बताए ।