वयोधा अस्पताललाई विदेशी मुद्रा अपचलन मुद्दामा ४० लाख रुपैयाँ जरीवाना

१३ भदौ ०७४, काठमाडौं । बल्खुस्थित वयोधा अस्पताललाई जिल्ला अदालत काठमाडौंले विदेशी मुद्रा अपचलन मुद्दामा ४० लाख रुपैयाँ जरीवाना सुनाएको छ ।

गत पुसमा राजश्व अनुसन्धान विभागले स्वास्थ्य उपकरण (मेडिकल इक्विप्मेन्ट) खरिद गर्ने नाममा उक्त अस्पतालले विदेशी मुद्रा अपचलन गरेको भन्दै अस्पतालविरुद्ध ८० लाख रुपैयाँ जरीवाना माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

भदौ ०७३ मा अस्पतालले भारतको वाइप्रो जीई हेल्थ केयर प्रालिबाट ‘मेडिकल इक्विप्मेन्ट’ खरिद गरेको थियो । उक्त कम्पनीसँग सामान खरिद गर्ने नाममा अवैध तरिकाले अस्पतालले भारतीय रुपैयाँको निकासी गरेको राजश्व अनुसन्धान विभाग स्रोतले जनाएको छ । सोही समयमा नेपाल इन्भेस्टमेन्ट बैंकबाट २५ लाख भारुको ‘डिमान्ड ड्राफ्ट’ भारतीय कम्पनी वाइप्रोमा पठाएको थियो ।

वयोधाले करिब २७ युरो (सोमबारको विनिमय दरअनुसार करीव तीन हजार तीन सय रुपैयाँ) मूल्य पर्ने उपकरणलाई भन्सारमा उच्च मूल्यांकन (ओभर भ्यालुएसन) गराएर २५ लाख भारतीय रुपैयाँ (४० लाख नेपाली रुपैयाँ) मा खरिद गरेको देखाएको थियो ।

त्यसरी कम मूल्यको सामानलाई विदेशी मुद्रा विनिमय अपचलन गर्ने उद्देश्यले नै निकासीका लागि बढी मूल्यको ‘डिमान्ड ड्राफ्ट’मार्फत् भुक्तानी पठाई अपचलन गरेको अदालतको ठहर छ ।

विदेशी विनिमय नियमित गर्नेसम्बन्धी ऐन, २०१९ अनुसार यस्तो मुद्दामा बिगो जफत गरेर त्यसबमोजिम तीन गुणासम्म जरीवाना असुल गर्न सकिने व्यवस्था छ ।

तपाइको मत