वर्डक्याम्प नेपाल २०२२ सम्पन्न

२० कार्तिक, ०७९ चितवन । भरतपुरमा शनिबारदेखि सञ्चालन भएको वर्डप्रेस सम्बन्धी दुई दिवसीय वृहत अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२२’ आइतबार सम्पन्न भएको छ ।

विश्वव्यापी रुपमा आयोजना हुने वर्डक्याम्प, वर्डप्रेस कम्युनिटीले गर्ने सबैभन्दा ठूलो सम्मेलन हो । हालसम्म ६५ देशका ३७९ सहरहरुमा ११२४ वटा वर्डक्याम सम्पन्न भएका छन् र नेपालमा योसँगै १५ वटा वर्डक्याम्प सम्पन्न भएको छ ।

वर्डप्रेस नेपालको आयोजनामा भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा भएको उक्त सम्मेलनको पहिलो दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुले सूचना प्रविधिका विविध विषयहरुमा प्रशिक्षण दिएका थिए ।

पहिलो दिनको प्रशिक्षकहरुमा ४ जना अन्तर्राष्ट्रिय तथा ६ जना महिला गरी १८ जनाको सहभगिता रहेको थियो ।

जसमध्ये भारतीय राहुल डी सर्केरले सर्च इन्जिन सम्बन्धि तथा आदित्य शाहले टेक्निकल टर्म डब्ल्युपी सी.एल.आई. सम्बन्धि प्रशिक्षण दिएका थिए ।

यस्तै बंगलादेशदेखि आएका रेहान अरिफले कन्टेन्ट मार्केटिंग तथा तनाज मासबाले सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्तिहरुले स्वास्थ्यमा आउन सक्ने समस्या र त्यसलाई निवारण गर्ने विषयमा प्रशिक्षण दिएकी थिइन ।

यस्तै नेपाली प्रशिक्षकहरु ईडा रिजाल, सृष्टि श्रेष्ठ, रौशन जैसवाल, अभिषेक रिजाल, गर्वित श्रेष्ठ, नबिन जैसवाल, सुनिता राई, जिना पौडेल, कृष्ण न्यौपाने, सन्तोष भण्डारी, अनुप अधिकारी, एलिना कक्षपति र लक्ष्मण भट्टराईले वर्डप्रेसलाई व्यवसायिकता प्रदान गर्दा आउन सक्ने चुनौती तथा तिनीहरुको समाधानका विषयमा प्रशिक्षण दिएका थिए ।

यसैगरी दोश्रो दिनमा वर्डप्रेसलाई अझै सबल विस्तारित र सुरक्षित बनाउन वर्डप्रेसका प्रयोगकर्ताहरुले कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा काठमाडौँ, पोखरा, भरतपुर, विराटनगर, वुटवल, धनगढी, बिरगंज लगायत देशका विभिन्न स्थानबाट आठ सय जनाको सहभागिता रहेको थियो ।