१० चैत्र ०७५, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरिएको छ ।
आइतबार जिल्ला अदालत, ललितपुरमा उपस्थित गराइएका उनीसहित ९ जनालाई न्यायाधीश चुडामणि खड्काको इजलासले ८ दिन थुनामा राख्ने अनुमति दिएको हो ।
उनीसहित ९ जनालाई नै शनिबार बिहान काभ्रेको खानीखोला–७, मिल्चेबाट बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउँदै गर्दा पक्राउ परेका थिए ।
प्रहरीले वलीलाई ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को मुख्यालयमा १० फागुनमा भएको शक्तिशाली विष्फोटको योजनाकार मानेको छ । घटनालगत्तै उनले सञ्चारमाध्यमहरुसँग कुरा गर्दैै घटनाको जिम्मेवारी लिएका थिए ।
त्यसैले प्रहरीले उनीविरुद्ध संगठित अपराधसहित राज्यविरुद्धको कसुर, हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाउनेछ ।उनीसँगै पक्राउ परेका अन्यमा पूर्वी ताम्सालिङका इन्चार्ज विजय श्रेष्ठ, रौतहट इन्चार्ज शंकर अधिकारी, नेता रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्काविरुद्ध पनि अनुसन्धानका लागि प्रहरीले म्याद थप गरेको छ ।
उनीहरुको हकमा भने राज्यविरुद्धको कसुर लगायतका मुद्दा चलाइएको बताइएको छ । पक्राउ परेका नवौं व्यक्ति धर्मराज राजबाहक स्कर्पिओ चालक हुन् ।