वली प्रकरणलाई माओवादी केन्द्रले भन्यो : मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद घटना

२२ साउन ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्री वली प्रकरणलाई मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद घटना भन्दै घोर निन्दा गरेको छ ।

माओवादी केन्द्रको शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो बताएको हो ।

“यस घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो,” माओवादी केन्द्रले भनेको छ, “हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ ।”

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबैलाई अपील गरेका छन् ।

लुम्बिनी प्रदेश सभा सदस्य वलीले बिहीबार पत्रकार सम्मेलन गरेर १५ साउनमा मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ल्याएर बन्धक बनाएको साथै एमालेमा फर्किएको भनेर वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् ।

उनी साविकको नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने १९ बैशाखमा नेकपा (माओवादी केन्द्र) रोजेकी थिइन् ।