७ मंसिर ०७५, काठमाडौं । नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी विमान प्रक्रियाबारे छानविन गर्न संसदीय समितिले तीन सदस्यीय उपसमिति गठन गरेको छ ।
शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायू सेवा निगमले खरिद गरेका दुई वटा वाइडबडी विमानका सम्बन्धमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसँग छलफलपछि विमानको छानविनका लागि सांसद प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिमा सत्तारुढ नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी सांसद रेणुका गुरुङ सदस्य रहेका छन् । उपससमितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
बैठकमा सांसदहरुले निगमले ल्याएको वाइडबडीको स्वामित्व कोसँग रहेको, विमान किनेर ल्याइएको हो वा भाडामा ल्याइएको हो भन्ने विषयमा प्रष्ट हुन नसकेको भन्दै सांसदहरुले उपसमिति गठन गरी छानविन हुनुपर्ने माग गरेका थिए ।