विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ

२३ चैत ०७५, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ परेका छन् ।

थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेका एकै परिवारका ५ नेपालीलाई ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकामध्ये २ नाबालक छन् ।

नियन्त्रणमा लिइएकामा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका उनका २ छोरी र ११ वर्षका १ छोरा रहेका छन् । उनीहरु थाई एयरको फलाइट नं. टीजी ३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जाँदै थिए ।

पक्राउ परेका नाबालकसहित पाँचै जनालाई अहिले प्रहरीले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा राखेको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरमा बुझाउने तयारी सुरक्षा कार्यालयले गरे पनि नाबालकको हकमा के गर्ने भन्ने कानूनी जटिलता उत्पन्न भएको प्रहरीले जनाएको छ ।

तपाइको मत