विद्यार्थी संगठनहरुले शिक्षा ऐनको संशोधन फिर्ता गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाए

६ असाेज ०७४, काठमाडाैं । सात विद्यार्थी संगठनहरुले शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार सिंहदरवार पुगेर नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल पाँचौं र नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका नेताहरुले कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा मुलुक बाहिर रहेकाले कार्यवाहक प्रधानमन्त्री गच्छदारलाई विद्यार्थी संगठनहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

गच्छदारलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले विद्यार्थी शिक्षा ऐन राष्ट्रपतिले प्रमाणिकरण गर्नु अघि नै फिर्ता लिनुपर्ने माग गरेका छन् ।ज्ञापनपत्र बुझाउन नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ सहितका नेता सिंहदरवार पुगेका थिए ।

संशोधित ऐनले शिक्षण लाइसेन्स लिएर बसेका लाखौं विद्यार्थीको भविष्य अन्धकारमा पार्ने भएकाले फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको बस्नेतले बताए । ऐनले योग्य शिक्षकबाट पढ्न पाउने लाखौं बालबालिकाको अधिकार समेत कुण्ठित भएको उनले बताए ।

शनिबार प्रमुख दलका शीर्ष नेताहरूलाई भेटेर ध्यानाकर्षण गराउने र त्यसपछि राष्ट्रपति समक्ष ऐन प्रमाणिकरण नगर्न आग्रह गरिने अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । ऐन संशोधनको विरोधमा ८ गते देशभरका विद्यालयमा कालो झण्डा गाड्ने र सडक बहस गर्ने विद्यार्थी संगठनहरूको कार्यक्रम छ ।

 

 

तपाइको मत