५ जेठ ०८०, बाग्लुङ । गल्कोट नगरपालिका -८, काँडेवासस्थित श्री जन जागृति माध्यमिक विद्यालयले शुक्रबार विविध कार्यक्रम गरी विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाएको छ ।
सो विद्यालयले पाँचौँ दिनको कार्यक्रम विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुका साथै हाजिरी जवाफ प्रतियोगिता गरी सम्पन्न गरिएको विद्यालय नर्स निता पुनले जानकारी दिइन् ।
नर्स पुनले ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षाको बारेमा सचेतनामुलक कक्षा सञ्चालन र सदनात्मक हाजिरी जवाफ प्रतियोगिता गरिएको बताइन् ।
उनले भनिन्, “विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहको पाँचौँ दिन विद्यालयको सरसफाई र व्यक्तिगत सरसफाई बारेमा सचेतनामुलक डिजिटल स्वास्थ्य शिक्षा/कक्षा सञ्चालन गरिएको छ ।”
यस्तै हाजिरीजवाफ प्रतियोगितामा माछापुच्छ्रे सदन प्रथम, अन्नपूर्ण द्वितीय, मनासलु तृतीय साथै धौलागिरी सदन सान्तवानाबाट पुरस्कृत हुन सफल भएको विद्यालय नर्स पुनले बताइन् ।
सरकारी तथा निजी विद्यालयहरुले जेठ १ देखि ७ गतेसम्म विविध कार्यक्रम गरेर ‘विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ मनाइरहेका छन् ।