विद्युत प्राधिकरणको बोर्ड बैठक बस्दै

८ कार्तिक ०८१, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बिहान नौ बजे बस्दैछ ।

बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमाबारे छलफल हुनेछ ।

नेपाल विद्युत प्राधिकरणले २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कार्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ ।

ऊर्जा मन्त्रीको अध्यक्षताको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर, भरत आचार्य, भक्तबहादुर पुन र कपिल आचार्य छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव हुन्छन् ।