१० माघ ०७६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिकास्थित कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरी र पुरुषोत्तम दाहाललाई पोल राखिदिने विषयमा सेवाग्राहीसँग लिँदै गरेको पच्चीस हजार रकमसहित आयोगको टंगालको टोलीले पक्राउ गरेको हो ।
ज्यालादारी गर्ने चौधरी र पोल सोर्न सहयोग गर्ने दाहाललाई का.म.न.पा. वडा नं. स्थित गुडफुड तन्दुरी अगाडिबाट उक्त रकमसहित रंगेहात पक्राउ गरी थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव–इन्जिनियर प्रकाश तिवारी घुससहित पक्राउ परेका छन् ।
भुकम्प पीडितको पुर्ननिर्मित घरको निर्माण रिर्पोट तयार गरेबापत सेवाग्राहीसँग ६ हजार रुपैया घुस लिएको आरोपमा अख्तियार दुरुपयोग आयोगको इटहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई भोजपुर नगरपालिका वडा नं. ७ स्थित प्रधान होटलबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।