१ जेठ ०८०, बाग्लुङ । देशभर विभिन्न कार्यक्रम गरेर विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइँदैछ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाबाट सञ्चालित विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह जेठ १ गतेदेखि ७ गतेसम्म विभिन्न क्रियाकलाप गरेर मनाउन लागिएको हो ।
विगतका वर्षहरुमा झैं ७५३ वटै स्थानीय तहमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाउन सरकारले मातहतका स्वास्थ्य संस्थालाई समन्वय गर्न अनुरोध समेत गरेको छ ।
श्री जनजागृति माध्यमिक विद्यालय बाग्लुङले पोषणसम्बन्धी प्रदर्शनी, जनचेतना तथा अभिमुखीकरण कार्यक्रम, जुकाको औषधि खुवाउने, स्वास्थ्य परीक्षण गर्ने, हाजिरी जवाफ प्रतियोगिता साथै सरसफाई कार्यक्रम गरेर विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाउन लागिएको जनाएको छ ।
सो विद्यालयका विद्यालय नर्स निता पुनले पोषण सप्ताह अवधिभर नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई ‘हरेक बार, खाना चार’का साथै पोषणबारे जानकारी दिइने बताइन् ।
“पहिलो दिन पोषणसम्बन्धी प्रदर्शनी, दोस्रो दिन जनचेतना तथा अभिमुखीकरण कार्यक्रम, तेस्रो दिन जुकाको औषधि खुवाउने तालिका रहेको छ,” विद्यालय नर्स पुनले भनिन्, “यसैगरी चौथो दिन नर्सरीदेखि ३ कक्षासम्मका विद्यार्थी स्वास्थ्य परीक्षण गर्ने, पाँचौं दिन सरसफाई गर्ने, छैटौं दिन पोषणसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता र सातौं दिन विद्यालय स्वास्थ्य तथा सरसफाई गर्ने कार्यक्रम छ ।”
पोषण सप्ताहलाई प्रादेशिक स्वास्थ्य कार्यालय, स्थानीय तह, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, विद्यालय, वडा कार्यालयका साथै कतिपय आमा समूहहरुले समेत जनचेतनामुलक प्रचारप्रसार तथा अभिमुखीकरण कार्यक्रम गरेर मनाइरहेका छन् ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने व्यवस्था गरेको छ भने बहुक्षेत्रीय निकायको संयुक्र प्रयासको लागि बहुक्षत्रीय पोषण योजना पहिलो (२०६९-२०७३) र दोस्रो (२०७५/७६-२०७९/८०) को विकास भएको देखिन्छ ।