लन्डन । बेलायतस्थित नेपालका विभिन्न राजनीतिक दल निकट संगठनहरुले त्यहाँस्थित भारतीय दुतावास र भारत सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मञ्च युके, नेपाली काँग्रेस निकट जनसम्पर्क समिति युके, जनता समाजवादी पार्टी निकट नेपाली समाज युके, राप्रपानिकट नेपाली एकता समाजले मे २२, २०२० मा हुलाकमार्फत् बेलायतस्थित भारतीय दुतावास र भारत सरकारलाई ज्ञापनपत्र पठाएका हुन् ।
नेपाली भूमि भएर भारतले मानसरोवर जोड्ने सडक उद्घाटन गरेकोमा आपत्ति जनाउदै ती संगठनले पठाएको पत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालीनदी पूर्वको लिम्पियाधुरासहितको जमिन स–सम्मान नेपाललाई फिर्ता गर्न आग्रह गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको उक्त ज्ञापन पत्रमा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी, जनसम्पर्क समितिका अध्यक्ष युवराज गुरुङ र नेपाली समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङले हस्ताक्षर गरेका छन् भने पत्रमा कुटनीतिक माध्यमबाट अतिक्रमित भूमि फिर्ता गरेर नेपाल–भारतको ऐतिहासिक सम्बन्ध कायम राख्न सुझाइएको छ ।
बेलायत सरकारले निर्देश गरेअनुसार भौतिक दूरी कायम गरी नेपालको नयाँ नक्सासहित उपस्थित भएका नेताहरुले ज्ञापनपत्र पठाउनु अघि संक्षिप्त सम्बोधन गरेका थिए ।