
टिकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीलाई नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा भेट्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । सौजन्यः श्याम श्रेष्ठ
४ असोज, नयाँदिल्ली । नेपाली सुरक्षा निकायका ‘वान्टेड’ सूचीमा रहेका विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा भेटेका छन् ।
प्रधानमन्त्री दाहालले टीकापुरको चिलम चौराहामा गतवर्ष दुईवर्षे बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चौधरीलाई शुक्रबार साँझ ताजमहल होटेलमा भेटेका हुन् ।
नेपाल-भारतका प्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताजमहल होटेलमा आयोजना गरिएको कार्यक्रममा दाहालले चौधरीलाई मञ्चमै भेटेका थिए । चौधरीले मञ्चमै पुगेर प्रधानमन्त्री दाहालसँग कानेखुसी गरेका थिए । चौधरी कार्यक्रम अवधिभर प्रधानमन्त्री उपस्थित ताजमहलको हलमै थिए ।
गत वर्ष भदौ ७ गते भएको कैलाली नरसंहारको घटनापछि चौधरी भारतमै लुकेर बसेका छन् । प्रहरीले अभियोग पत्रमा चौधरीलाई घटनाको मुख्य योजनाकार रहेको दाबी गरेको छ भने उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कैलालीले सर्वस्वसहित जन्मकैद माग गर्दै अदालतमा मुद्दा चलाएको छ ।
घाइतेका तर्फबाट चौधरीलगायतका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग र मारिएका प्रहरीको एसएलआर तथा पेस्तोल कब्जामा लिएको भन्दै ‘डाँका चोरी’ मुद्दा पनि दर्ता भएको छ ।