७ जेठ ०७८, काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार गरिरहेकाले पदमुक्त गर्नुपर्ने जनाएको छ ।
शुक्रबार पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरेर संविधानको रक्षा गर्न राष्ट्रपतिलाई महाभियोग लगाउनु पर्ने बताएका हुन् ।
राष्ट्रपतिलाई महाभियोग लगाएर पदमुक्त गर्न विपक्षी दलहरूलाई आह्वान गर्दै विवेकशीलले राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख गरेकोे छ ।
“संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने” कार्य भइरहेको छ, विज्ञप्तिमा भनिएको छ, “देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ ।”
विवेकशीलले विज्ञप्तिमा राष्ट्रपति भण्डारीले
प्रधानमन्त्री ओलीको सिफारिसलाई रबर स्ट्याम्पसरह सदर गर्नु असंवैधानिक कदम रहेको समेत उल्लेख गरेकोे छ ।