१४ कार्तिक ०८०, काठमाडौं । संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिप्रति राष्ट्रसंघको सद्भाव रहेको बताएका छन् ।
चारदिने नेपाल भ्रमणमा रहेका महासचिव गुटरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको साथै संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा राष्ट्रसंघको सद्भाव रहेको बताउँदै उनले भनेका छन्, ‘शान्ति र प्रगतिको यात्रामा तपाईंहरु एक्लै हुनुहुन्न । नेपाली नेतृत्वसँग राष्ट्रसंघ सँगै छ ।’
यस्तै उनले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झेल्नुपरेको आफ्नै आँखाले देखेको बताए ।
नेपालको औपचारिक भ्रमणको सिलसिलामा महासचिव गुटरेसले सगरमाथा आधारशिविरदेखि अन्नपूर्ण वेशक्याम्पसम्म पुगेर जलवायु संकटलाई नजिकबाट नियालेका छन् ।
यस्तै सम्बोधनकै क्रममा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा योगदान दिने देशमध्ये नेपाल अग्रपंक्तिमा रहेको भन्दै महासचिव गुटरेसले विश्वमा शान्ति स्थापनाका क्रममा विभिन्न मुलुकमा कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाउने नेपाली सेना, प्रहरी लगायत योद्धाहरुको सम्झनामा एक मिनेट मौनधारण आह्वान गरे ।
नेपालका नागरिक र यहाँको सांस्कृतिक पक्षको खुलेर प्रशंसा गर्दै उनले भने, ‘नेपाल विश्वको मित्र हो, विश्व नेपालका लागि असल मित्र हुनुपर्छ। ।’
यसैगरी युद्धबाट शान्तिका लागि नेपालले गरेको यात्रामा राष्ट्रसंघको समर्थन छ भन्न पाउँदा आफूलाई गर्व लागेको पनि बताए ।