वीरमा दरखास्त दिन नर्सहरुको लाइन, सेवाग्राहीको लाइन र भिडभाड शून्य

वीर अस्पतालको परिसरमा दरखास्त बुझाउन लाइनमा बसेका रजिष्टर्ड नर्सहरु

२४ बैशाख ०७८, काठमाडौं । कोभिड–१९को दोस्रो लहरसँगै स्वास्थ्य सुरक्षा मापदण्डमा कडाई गरेको सरकारले आफ्नै मातहतको अस्पतालमा स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ ।

कोरोनाको नयाँ भेरियन्ट संक्रमण दर बढेपछि देशकै जेठो वीर अस्पतालले ६ महिनाका लागि करार सेवामा सय जना नर्स माग गरेको थियो । सोही पदमा दरखास्त दिने नर्सहरुको अस्पताल परिसरमै स्वास्थ्य मापदण्ड विपरीत भिड लागेको हो ।

स्वास्थ्य मापदण्डको पूरै वेवास्ता गरेर सामान्य अवस्थामा झैँ दरखास्त दिन लाइन लागेको दृष्य

बुधबार सूचना निकालेर नर्सिङ्ग कर्मचारी माग गरेको अस्पताल प्रशासनले स्वास्थ्य मापदण्डको पूरै वेवास्ता गरेर दरखास्त बुझिरहेका थिए भने नर्सहरू सामान्य अवस्थामा झैँ दरखास्त दिन लाइन लागेको दृष्यले जारी निषेधाज्ञालाई गिज्याइरहेको देखिन्थ्यो ।

प्रविधिको प्रयोग गरेर अनलाइनमार्फत् फारम बुझ्ने व्यवस्था नगरेको अस्पताल प्रशासनले भौतिक दूरी समेत कायम नराखेर दरखास्त लिँदा कोरोना संक्रमण हुने र फैलिन सक्ने अवस्था थियो ।

अस्पतालले आज साँझ ५ बजे सम्म दरखास्त दिन सकिने सूचना प्रकाशित गरेको थियो ।

इमर्जेन्सी गेट र वरपरको दृष्य

नर्सहरुको दरखास्त दिने लाइनबाहेक अस्पतालको इमर्जेन्सी, टिकट काउन्टर साथै फार्मेसीमा सेवाग्राहीको खासै लाइन र भिडभाड शून्य  प्रायः थियो ।

सेवाग्राहीहरू फार्मेसीमा औषधि किन्दै

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आह्वान गरेको सरकारले सवारी साधनको आवागमन साथै सबै क्षेत्रमा रोक लगाएको छ भने पास बिनाका सवारी सधानहरुलाई हरेक चेकपोष्टहरुमा होल्डिङ्गमा राखेको समेत देखिन्छ ।

ललितपुरको सानेपास्थित प्रहरी चेकिङ्गपछि होल्डिङ्ग सेन्टरमा बिना पासका सवारी साधनहरु